वीरगंज, २४ असार — हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सामान्य स्थानको आसपास रहेकाले देशभर आंशिकदेखि साधारण बदली रहनेछ।
महाशाखाका अनुसार आज दिउँसो र राति पहाडी भेगहरूमा विशेष गरी मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। उच्च पहाडी र हिमाली भेगहरूमा भने हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ।
आज राति पनि यस्तै मौसम रहनेछ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही स्थानहरूमा भारी वर्षा हुन सक्ने मौसमविद्हरुले बताएका छन्।

























