वीरगंज, १ साउन — हाल देशभर मनसुन सक्रिय रहेकाले अधिकांश स्थानहरूमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसोदेखि नै देशभर साधारणतया बदली हुने तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। यसका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई भूभागमा हावाहुरी चल्ने सम्भावना रहेको बताइएको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागमा समेत हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

​यसैगरी, आज राति देशभर आंशिकदेखि साधारण बदली रहनेछ। कोशी र मधेश प्रदेशका साथै देशका अन्य पहाडी भू-भागमा पनि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

​विभागका अनुसार हाल भारतको उत्तर प्रदेश आसपास अवस्थित न्यूनचापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। साथै मनसुनको न्यून चापीय रेखा पनि सरदर स्थानको आसपासमा रहेकाले देशभर मनसुनी प्रभाव तीव्र देखिएको हो।

भारी वर्षा र चट्याङको सम्भावनालाई ध्यानमा राख्दै मौसम पूर्वानुमान महाशाखाले नदी किनार, पहिरो सम्भावित क्षेत्र, सवारी आवागमन र कृषिकार्यमा सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका बासिन्दाहरूले आजको मौसममा विशेष ध्यान दिनु पर्ने देखिन्छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here