वीरगंज, १२ साउन – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज सोमवार दिनभर र रातभर धेरैजसो स्थानमा बादल लाग्ने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचनाअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र तराईका केही भागहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
यसैगरी, कोशी प्रदेशको तराई भू-भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसैगरी, आज राति पनि देशभर सामान्य बदली रहनेछ। गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रका केही स्थानमा तथा तराईका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
गण्डकी प्रदेशको पहाडी भू-भागमा रातिको समयमा समेत एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिइएको छ।
हाल मनसुनको न्यून चापीय रेखा देशको पश्चिम भागमा सरदर स्थानको आसपास र पूर्वी भागमा सामान्यभन्दा केही उत्तरतर्फ रहेको छ। यही प्रणालीका कारण हाल देशभर मनसुनी प्रणाली सक्रिय रहेको मौसमविद्को भनाइ छ।