वीरगंज, २२ असार – कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा वा हिमपात हुनसक्ने अनुमान गरिएको महाशाखाले जनाएको छ।
यसैगरी, रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक देखि साधारण बदली हुने अनुमान छ। यी प्रदेशहरूका धेरै स्थानहरूमा र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुनसक्छ। त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कोशी, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षा हुने सम्भावना पनि रहेको विभागले जनाएको छ।
देशभर हाल मनसुनी वायुले प्रभाव जमाएको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। विभागले बाढी, पहिरो र चट्याङजस्ता जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।

























