मस्को — युक्रेनसँगको युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति सम्झौता गर्न इच्छुक रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आइतबार सरकारी टेलिभिजनमार्फत भने, “राष्ट्रपति पुटिन युक्रेनसँग शान्ति सम्झौता गरेर सकेसम्म चाँडो शान्तिपूर्ण निष्कर्षमा पुग्न चाहनुहुन्छ।” यद्यपि उनले यो प्रक्रिया सहज नहुने उल्लेख गर्दै, युद्धरत दुवै पक्षले बराबरी प्रयास गरेमा समाधान सम्भव हुने बताए।

विज्ञापन

“हामी लक्ष्यप्रति प्रतिबद्ध छौं र ती लक्ष्यहरू स्पष्ट छन्,” पेस्कोभले भने।

उनले यस सन्दर्भमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिका पनि उल्लेख गरे। “हाल विश्व ट्रम्पका चर्का अभिव्यक्तिहरूमा अभ्यस्त भइसकेको छ। उनले रुसबारे हालै दिएका तीव्र टिप्पणीका बाबजुद, रुस–युक्रेनबीचको शान्ति प्रक्रिया खोज्न लागिपरेका छन्,” पेस्कोभले भने।

गत सोमबार ट्रम्पले रुसविरुद्ध कडा नीति सार्वजनिक गर्दै नयाँ करको घोषणा गरेका थिए। साथै, उनले युक्रेनलाई थप सैन्य सहयोग दिने प्रतिवद्धता जनाएका थिए, जसअन्तर्गत प्याट्रियट मिसाइल प्रणालीसमेत समावेश हुने बताइएको थियो। यसअघि ट्रम्पले रुसलाई ५० दिनभित्र युद्धविराममा सहमत हुन वा कडा प्रतिबन्धको सामना गर्न चेतावनी दिएका थिए।

इसतानबुलमा भएका अघिल्ला दुई चरणका वार्ताबाट ठोस निष्कर्ष ननिस्किएपछि रुस वार्ता प्रक्रियाप्रति उत्साहित देखिएको थिएन। तर ती वार्तापछि दुवै देशबीच मृतक सैनिकका शव आदान–प्रदान भएको थियो।

पछिल्लो समय युक्रेनी राजधानी किभले पुनः वार्ताका लागि नयाँ प्रस्ताव अघि सारेपछि पुटिन त्यसप्रति सकारात्मक देखिएका हुन्। राष्ट्रपति कार्यालयका अनुसार, यदि वातावरण अनुकूल भयो भने पुटिन वार्तामा सहभागी हुन तयार छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here