वीरगंज , १८ साउन — हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो र राति देशका अधिकांश भूभागमा बादल लाग्ने र धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार, दिउँसो कोशी र मधेश प्रदेशका केही ठाउँहरू साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, देशभर सामान्यतया बदली रहनेछ भने धेरै स्थानमा मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ।
आज राति पनि देशभर बदली रहनेछ। विशेषगरी मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका धेरै स्थानहरूमा तथा अन्य क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। यी प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान छ।
विभागका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा नेपालको सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ, जसका कारण वर्षाको गतिविधिमा तीव्रता आएको हो।
भारी वर्षाको सम्भावना रहेकाले भूस्खलन, बाढी र पानीको सतह बढ्न सक्ने जोखिम रहन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

























