तस्विर : सौजन्य

वीरगंज, २३ साउन — लायन्स क्लब अफ रक्सौलको महिला शक्ति शाखाले हर्षोल्लासपूर्ण वातावरणमा सावन महोत्सव सम्पन्न गरेको छ। रक्सौल शहरको मेन रोडस्थित पङ्कज वाटिकामा आयोजित कार्यक्रममा सावनको रिमझिम वर्षासँगै महिलाहरुको उत्साह झन् बढेको थियो।

कार्यक्रम संयोजक तथा क्लबकी उपाध्यक्ष प्रियंका सोनीले लायन्स क्लब अफ रक्सौलले प्रत्येक वर्ष सावन महोत्सव मनाउँदै आएको बताइन्। उनका अनुसार महोत्सवको उद्देश्य आपसी प्रेम, सौहार्द, सामाजिक जागरूकता र सेवा भावलाई प्रवर्द्धन गर्नुका साथै महिलामाझ सशक्तिकरणको सन्देश फैलाउनु हो। सो अवसरमा क्लबका सम्पूर्ण महिला सदस्यहरू हरियो रङको परम्परागत सारीमा सजिएर सहभागी भएका थिए, जसले माहोललाई पूर्णरूपमा सावनमय बनाएको थियो।

विज्ञापन

सोनीले महोत्सवलाई सांस्कृतिक एकता र सामाजिक मूल्य-मान्यताहरूलाई मजबुत बनाउने अवसरका रूपमा वर्णन गर्दै समाज, वातावरण र मानव सेवामा अझ सक्रिय रहने सङ्कल्प गरिएको उल्लेख गरिन्।

लायनेस नीलम हिसारियाका अनुसार, कार्यक्रममा विशेष स्वादिष्ट परिकार, गीत-सङ्गीत, नृत्य, अन्ताक्षरी, हाउजी र अन्य मनोरञ्जनात्मक खेलहरूको व्यवस्था गरिएको थियो, जसमा महिला सदस्यहरूसँगै बालबालिकाले पनि उत्साहपूर्वक सहभागिता जनाए।

कार्यक्रमको समापन महिला सशक्तिकरण, सामाजिक समरसता, मानव सेवा, पर्यावरण संरक्षण तथा महिला र बाल विकासप्रतिको प्रतिबद्धता व्यक्त गर्दै गरिएको थियो।

सो अवसरमा नूतन चौरसिया, ममता गुप्ता, पूनम गुप्ता, सरिता खत्री, गीता कुशवाहा, शिल्पी भरतिया, दीपा कुमारी, ऋतन देवी लगायतका सदस्य तथा आमन्त्रित सोनू काबरा र शिखा रञ्जन उपस्थित थिए। कार्यक्रमबारे जानकारी क्लबका अध्यक्ष एवं मिडिया प्रभारी बिमल कुमार सर्राफले दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here