वीरगंज, २४ साउन– मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।
यसैगरी, आज राति देशभर सामान्य बदली रहने विभागले जनाएको छ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। यससँगै, कोशी र बागमती प्रदेशको पहाडी भूभाग तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी विभागले जारी गरेको छ।
विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको केही उत्तरतर्फ र पश्चिममा नेपालको तराई नजिक अवस्थित छ।