पोखरिया।
पोखरिया नगरपालिका वडा नं. १, बनकवामा बसोबास गर्दै आएका एक परिवार गम्भीर आर्थिक संकटमा परेको छ। आर्थिक अभावकै कारण परिवारका मुख्य सदस्यको जीवनरक्षाका लागि आवश्यक उपचारसमेत हुन नसकेको छ।

५३ वर्षीय माया साह कानु क्यान्सरको चौथो चरण (स्टेज–४) मा पुगेका छन्। लामो समयदेखि उपचाररत उनी हाल थप उपचारका लागि आर्थिक स्रोतको अभाव झेलिरहेका छन्। यसैबीच, उनकी श्रीमतीलाई पनि ब्रेन हेमरेज भएकोले परिवारमा दोहोरो विपत्ति आइलागेको छ।

विज्ञापन

परिवारको नाममा जम्मा १० धुर घडेरी मात्र रहेको छ। उक्त घडेरीसमेत उपचार खर्च जुटाउन बैंकमा धितो राखिएको हुँदा हाल परिवारसँग कुनै आयस्रोत बाँकी छैन। पाँच जना छोरी र एक जना छोरा रहेको यस परिवारलाई दैनिक घरखर्च चलाउनसमेत अत्यन्तै कठिनाइ भइरहेको छ।

छिमेकी प्रह्लाद गिरीका अनुसार, परिवारको अवस्था दिनप्रतिदिन झन् दयनीय बन्दै गएको छ। “उपचार समयमै हुन सके जीवन बच्न सक्छ, तर आर्थिक अभावले गर्दा अस्पताल लैजानसमेत समस्या भइरहेको छ,” उनले बताए।

यस गम्भीर अवस्थालाई मध्यनजर गर्दै पीडित परिवारले स्थानीय सरकार, सामाजिक संघसंस्था, सहयोगी मन भएका व्यक्ति तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण दाताहरूसँग आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेका छन्। समयमै सहयोग जुट्न सके माया साह कानुको उपचार सम्भव हुने र परिवारलाई राहत पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here