Hilights

  • भोजपुरी प्रतिष्ठान वीरगंजद्वारा ‘आपन भाषा, आपन पहचान’ अभियानको शुभारम्भ।
  • सामुदायिक विद्यालयमा मातृभाषा भोजपुरीको संरक्षण र प्रवर्द्धनका लागि चेतनामूलक कार्यक्रम।
  • भाषा, साहित्य, कला र संस्कृतिबारे विद्यार्थीहरूलाई व्यवहारिक तथा सृजनात्मक जानकारी।
  • ७० जना विद्यार्थीहरूको सहभागिता, मातृभाषा प्रयोगमा गौरव गर्न प्रेरणा।
  • अभियानलाई निरन्तरता दिने प्रतिष्ठानको घोषणा।

वीरगंज, पर्सा — वीरगंज महानगरपालिकाको भोजपुरी प्रतिष्ठानले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘आपन भाषा, आपन पहचान’ अभियान सञ्चालन गरेको छ। मातृभाषा भोजपुरीको संरक्षण, प्रवर्द्धन तथा चेतनामूलक गतिविधिमा जोड दिँदै अभियान अन्तर्गत शुक्रबार कन्या माध्यमिक विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डेले मधेश क्षेत्रमा भोजपुरी भाषाको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वमाथि प्रकाश पारे। उनले मातृभाषा भनेको केवल सञ्चारको माध्यम मात्र नभई पहिचान र संस्कृतिको वाहकसमेत भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई मातृभाषाको सम्मान र विकासमा सक्रिय बन्न प्रेरित गरे।

प्रतिष्ठानका सदस्य मुकेश महतो नुनियाले भोजपुरी लोकचित्रकलाको संरक्षण आवश्यक रहेको बताउँदै विद्यार्थीहरूलाई चित्रकलामा सहभागी गराउँदै यसको सजिलो अभ्यासबारे प्रयोगात्मक जानकारी प्रदान गरे। साथै, कवि तथा गीतकार आमोद गुप्ताले भोजपुरी गीत तथा कविता मार्फत भाषा र संस्कृतिको महत्व दर्शाउँदै आफैले रचना गरेका कविता वाचन गरे र विद्यार्थीहरूलाई सृजनात्मक लेखनमा लाग्न उत्प्रेरित गरे।

कार्यक्रममा श्याम सर्राफले मातृभाषा प्रयोगमा लाज नमान्न आग्रह गर्दै लोक धुन र लोक गीतहरूको संरक्षण तथा प्रवर्द्धनमा युवापुस्ताको सहभागिता आवश्यक रहेको बताए।

भोजपुरी प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन माधुरी महतोले गरेकी थिइन्। कार्यक्रममा करिब ७० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रतिष्ठानले आगामी दिनहरूमा पनि यो अभियानलाई विभिन्न विद्यालयमा निरन्तर सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन