काठमाडौँ — दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको हरियाणातर्फ प्रस्थान गर्ने भएको छ। अगस्ट ३ देखि १० सम्म मोरमाजरामा हुने प्रतियोगिताका लागि १४ खेलाडीसहित १८ सदस्यीय टोली गठन गरिएको छ।
टोलीको नेतृत्व कप्तान मानमति विष्टले गर्नेछिन् भने जयन्ती बडु उपकप्तान रहनेछिन्। अन्य खेलाडीमा मेनुका राजवंशी, रविना चौधरी, मीना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, सिर्जनाकुमारी थारु, सिर्जना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन्।
प्रशिक्षक विष्णुदत्त भट्ट, सहायक प्रशिक्षक हरिना थापा, व्यवस्थापक शरद दर्शनधारी र निर्णायक रमेशचन्द्र ओझा पनि टोलीसँगै छन्।
नेपाली टोलीले प्रतियोगिताअघि मोरमाजरामै १२ दिन प्रशिक्षण गर्नेछ र स्थानीय ५ वटा क्लबसँग अभ्यास खेल खेल्ने कार्यक्रम तय गरिएको छ।
एसियाका ४७ राष्ट्रमध्ये विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपाल यस संस्करणका लागि छनोट हुँदै सहभागी हुन लागेको हो। प्रतियोगितामा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, नेदरल्यान्ड्स, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्डले सहभागिता जनाउने छन्।
१३ वर्षपछि दोहोरिएको विश्वकपको पहिलो संस्करण सन् २०१२ मा भारतकै पटनामा सम्पन्न भएको थियो।
शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टले टोलीलाई बिदाइ गरेका थिए।
सदस्य–सचिव घिसिङले महिला खेलाडीको प्रदर्शन उकालो लागेको भन्दै, “एसियाली प्रतियोगितामा समेत पदक जितिसकेको नेपाली महिला कबड्डी टोली दक्षिण एसियामा मात्र सीमित छ भन्ने भ्रम चिर्न सफल भएको छ,” भने।
प्रशिक्षक भट्ट र कप्तान विष्टले ८ महिनाको बन्द प्रशिक्षणले टोलीको तयारी सशक्त बनाएको बताउँदै विश्वकपमा पदक जित्ने विश्वास व्यक्त गरेका छन्।