वीरगंज, १३ साउन – मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचना अनुसार आज देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेश सहितका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा केही तराई भू-भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत जनाइएको छ।
आज राति पनि लुम्बिनी प्रदेशसहित पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। लुम्बिनी प्रदेशका साथै अन्य पहाडी क्षेत्रका थोरै स्थानमा र तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुले प्रभाव जमाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जनाइएको छ।